नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्स र क्यूजे मोटर्सबीच व्यावसायिक सहकार्यको सम्झौता भएको छ। सम्झौतापत्रमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र क्यूजे मोटर्सका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष जिसीले सहकार्यका लागि क्यूजे मोटर्स तथा हाईली एड्भान्स मोटर्सलाई धन्यवाद दिँदै यसलाई नेपाली क्रिकेटमा गरिएको लगानीका रूपमा लिएको बताए। यस्ता व्यावसायिक सहकार्यले नेपाली क्रिकेटको विकास र विस्तारमा योगदान पुर्याउने उनको विश्वास छ।
त्यस्तै, क्यूजे मोटर्सका एक्जुकेटिभ डाइरेक्टर समीर भण्डारीले लुम्बिनी लायन्ससँगको सहकार्यले आफ्नो ब्रान्डको पहिचान र उचाइ बढाउन सहयोग पुग्ने बताए। नेपाली क्रिकेटमा लगानी गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले यो सहकार्यले आगामी दिनमा नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
भण्डारीले आगामी पाँचदेखि १० वर्षमा एनपीएलको उचाइ निकै बढ्ने अपेक्षा पनि व्यक्त गरे। नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँगै एनपीएल व्यावसायिक रूपमा थप विस्तार हुने सम्भावना रहेको उनको भनाइ छ।
यसैबीच, क्यूजे मोटर्सले दसैँ–तिहार लक्षित अफरअन्तर्गत आफ्नो ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने तीन जना ग्राहकलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ। कम्पनीका अनुसार छनोट भएका प्रत्येक ग्राहकले नेपालका आफूले रोजेको कुनै पनि विश्वविद्यालयमा अध्ययनका लागि एक लाख रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नेछन्।
लुम्बिनी लायन्स र क्यूजे मोटर्सबीचको यो सहकार्यले एनपीएलको तेस्रो संस्करणमा व्यावसायिक साझेदारीलाई थप मजबुत बनाउनुका साथै नेपाली क्रिकेट र युवा प्रतिभाको प्रोत्साहनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।