Follow Us:

जापानसँगको खेल रद्द, समूह विजेता बनेको नेपालले श्रीलंकासँग खेल्ने

नेपालले शुक्रबार अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनल पुगेको नेपालले अब श्रीलंकासँग सेमिफाइनल पुग्न खेल्ने छ ।

नागोया — नेपाल र जापानबीच २० औं एसियाली खेलकुदको शनिबारको क्रिकेट खेल रद्द भएको छ । नागोयाको कोरोगी स्पोर्टस पार्कमा टस हारेर ब्याटिङमा आएको नेपालले वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो ।

तर नेपाल इनिङ्स सकिएसँगै ठूलो वर्षा भएपछि खेल रद्द भएको थियो । नेपालले शुक्रबार अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनल पुगेको नेपालले अब श्रीलंकासँग सेमिफाइनल पुग्न खेल्ने छ । घरेलु टोली जापान भने समूह चरणबाटै बाहिरिएको छ ।

जापानमा भइरहेको प्रतियोगितामा समूह ‘बी’ को उपविजेता बनेको अफगानिस्तानले भारतसँग अर्को क्वार्टरफाइनलमा खेल्ने छ ।

सन्दीप जोराले र लोकेश बमले अर्धशतक बनाएपछि नेपालले राम्रो स्कोर बनाएको थियो । जोरा ३२ बलमा ५७ र लोकेश २२ बलमा ५२ रन बनाई अविजित रहे । सो क्रममा यी दुईले पाँचौं विकेटमा ३० बलमा ६५ रनको साझेदारी गरे ।

ओपनर कुशल भुर्तेल र कुशल मल्लले धैर्य गुमाइरहेको समयमा आत्मविश्वासका साथ खेलिरहेका जोराले ५ चौका र ३ छक्का प्रहार गरे । उनी ४९ रन भएको समयमा बाउन्ड्री लाइनमा जापानी फिल्डरले क्याच फुत्काएपछि चौका भएको थियो ।

लोकेशले इनिङ्सको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धशतक पनि हो । लोकेशले कुल १ चौका र ६ छक्का प्रहार गर्दै झन्डै २ हजारमध्येका अधिकांश नेपाली दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गरेका थिए ।

भुर्तेल १२ बल खेली ४ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले १५ बल खेली समान १ चौका र छक्का प्रहार गरी २१ रन बनाए । मल्ल ५ बल खेली २, गुल्झन झा ६ बलमा २ रन बनाई आउट भए । जापानका रेओ साकुरानो थोमस, इब्राहिम ताकाहासी, जाके कुसुदा नारिन र डेक्लन सुजुकीले १–१ विकेट लिए ।

Open News Article